काठमाडौँ — वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूले कार्यस्थलबाटै कोभिड–१९ संक्रमण हुन सक्ने जोखिम रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नेपाली पोलिसी इन्स्टिच्युटले माइग्रेसन ल्याबसँगको सहकार्यमा खाडीका ८ देश, मलेसिया र भारतमा कार्यरत ६ सय २५ कामदारमाझ गरेको सर्वेक्षणमा ५८ प्रतिशतले यस्तो चिन्ता जनाएका हुन् । सर्वेक्षणमा सहभागी १७ प्रतिशतले भने व्यक्तिगत जीवनशैलीका कारण संक्रमण हुन सक्ने बताएका छन् ।
कोभिड–१९ संक्रमणका कारण स्वदेश फर्किने योजना बनाइरहेकामध्ये धेरैजसो (८० प्रतिशत) कामदारले नेपाल फर्केपछि कृषि वा गैरकृषि क्षेत्रमा स्वरोजगार बन्ने योजना बनाएको पाइएको छ । बाँकीले कृषि वा गैरकृषि क्षेत्रमा ज्यालादारी गर्ने योजना बनाएको बताएका हुन् । मुख्य श्रम गन्तव्यमा रहेका नेपाली कामदारले समूहगत कुराकानीमा नेपालमा ज्यालादारी काममा आम्दानी कम हुने र खर्च धेरै हुनेसमेत बताएका छन् ।
सरकारले वैदेशिक रोजगारीबाट फर्किएका कामदारहरूलाई लक्षित गरी विभिन्न कार्यक्रम र बजेट छुट्याएको भए पनि प्रवासमा रहेकामध्ये ७० प्रतिशत कामदारलाई यसबारे जानकारी नै नरहेको पाइएको हो । सर्वेक्षणमा सहभागी २ प्रतिशतले मात्रै त्यस्ता योजनाको बारेमा थाहा भएको सुनाएका थिए । सर्वेक्षणमा सहभागीमध्ये ८० प्रतिशतले स्वदेश फर्केर केही उद्यम गर्न आफूहरूसँग पुँजीको अभाव रहेको बताएका छन् । यस्तो बताउनेले प्रवासको कमाइ घर खर्चमै सकिने गरेको पनि खुलाएका थिए ।