स्थानीयस्तरमै रोजगारी

काठमाडौं : विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) ले विश्वभर बेरोजगारको संख्या बढाइरहेको बेला नेपालमा रोजगारी सिर्जना गर्न चुनौती थपिएको छ। प्रारम्भिक अध्ययनअनुसार सीपमूलक तालिम र कर्जाको सहज व्यवस्था गरिदिए स्थानीयस्तरमै पर्याप्त रोजगारी सिर्जना गर्न सकिने देखिएको छ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का अनुसार कोरोना भाइरसकै कारण विश्वभर एक करोड ५० लाखले रोजगारी गुमाउँदै छन्। स्वदेशमा रोजगारी सिर्जना हुन नसक्दा पछिल्लो एक दशकयता बर्सेनि ४ लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा जान वाध्य छन्। वैदेशिक रोजगार विभागका अनुसार हालसम्म ४३ लाख बढी वैदेशिक रोजगारीमा गए पनि पछिल्लो समय २५ देखि ३० लाख कार्यरत रहेको अनुमान छ। कोरोनाका कारण भारतसहित मलेसिया र खाडीबाट गरी १२ लाखदेखि १५ लाख युवा स्वदेश फर्कन सक्ने देखाएको छ। आईएलओका अनुसार कम्तीमा १५ लाखदेखि करिब २० लाखले आन्तरिक रोजगारी गुमाएका छन्।

तर सरकारले आर्थिक वर्ष २०७६/७७ मा ७ लाखदेखि १० लाख मात्रै रोजगारी सिर्जना गर्न सकिने गरी बजेट ल्याएको छ। २५ लाखभन्दा बढीलाई व्यवस्थापन गर्ने गरी अहिले विशेष कार्यक्रम ल्याउनुपर्ने भए पनि सरकारको ध्यान पुगेको छैन। बजेटमा पर्याप्त रोजगारीका कार्यक्रम ल्याउन नसके पनि राष्ट्रिय योजना आयोगले कोरोना भाइरसपछि रोजगारीमा पारेको असर र रोजगारीका सम्भावनाबारे सरोकारवाला निकायसँग समन्वय गरी अध्ययन गरिरहेको छ।

नेपाल नीति प्रतिष्ठान(एनपीआई) का अध्यक्ष खगेन्द्र ढकालले कोरोनाका कारण उल्लेख्यमात्रामा वैदेशिक रोजगार गुम्ने खतरा बढ्दै गएपछि स्वदेशमा रोजगारी सिर्जना गर्न जोड दिइएको छ। विदेशबाट फर्केकालाई रुचि, अनुभव र ज्ञानका आधारमा स्वदेशमा लगानी गर्ने वातावरण बनाइदिनुपर्ने उनले बताए। सरकारले बजेटमार्फत रोजगारी सिर्जना गर्न सीपमूलक तालिमलाई प्राथमिकतामा राखेको छ। अध्यक्ष ढकालले स्थानीय तहमै सीपमूलक तालिम दिन सके र वैदेशिक रोजगारीबाट फर्केर ल्याएको सामाजिक रेमिट्यान्स उपयोग गर्न सके बेरोजगारी समस्या धेरै हदसम्म व्यवस्थापन गर्न सकिने उनले सुनाए।

पूर्वाधार, निर्माण, कृषि, पर्यटन, उत्पादनलगायत क्षेत्रमा रोजगारी सिर्जना गर्न सकिने प्रशस्त सम्भावना भएकाले वैदेशिक रोजगारीबाट फर्केकालाई र स्वदेशमै रोजगारी गुमाएकालाई व्यवस्थापन गर्नुपर्ने उनले बताए।

Spread the Word

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Other IN THE MEDIA

blank