काठमाडौँ — मामायोजना आयोगले निर्माण गरिरहेको १५ औं आवधिक योजनाका निम्ति नेपाल पोलीसी ईन्स्टिच्युट (एनपीआई)ले नीतिगत सुझावहरु दिएको छ । गैरआवासीय नेपाली संघ थाईल्यान्डसँगको सहकार्यमा नेपाल पोलिसी ईन्स्टिच्युटले गरेको कार्यक्रममा विज्ञहरुले त्यस्तो सुझाव दिएका हुन् । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहित सरकारी अधिकारीहरुको उपस्थिति थियो ।
गैरआवासिय नेपाली संघको स्वायत्त थिंक ट्यांकका रुपमा कार्यरत एनपीआईले नेपालकेन्द्रित नीति निर्माणमा छलफल र बहस चलाउँदै आएको छ । कार्यक्रममा योजना आयोगका सहसचिव खुमराज कोइरालाले १५ औं आवधिक योजनाको मस्यौदा निर्माणमा स्थानीयदेखि केन्द्रीय तहसम्म विभिन्न चरणमा छलफल गरिएको बताए । उनले नीति निर्माणका गर्न स्थानीयदेखि केन्द्रीय तहसम्म विभिन्न चरणमा छलफल भएको बताउँदै एनपीआईले दिने सुझाव पनि योजनामा समेटिने बताए ।